साउदी अरेबियामा ५ सयभन्दा बढी नेपाली विभिन्न अभियोगमा जेलमा

साउदी अरेबियामा ५ सयभन्दा बढी नेपाली विभिन्न अभियोगमा जेलमा



काठमाडौं । साउदी अरेबियामा वैदेशिक रोजगारीमा गएका नेपालीहरूमध्ये धेरैजसो मदिरा सम्बन्धी गतिविधिका कारण जेलमा परेका छन्।

नेपाली दूतावास अनुसार साउदीको कानुन अनुसार मदिरा उत्पादन, सेवन तथा ओसारपसार पूर्ण रूपमा गैरकानुनी मानिन्छ। त्यस्तो गतिविधिमा संलग्न पाइएका नेपालीहरूमाथि कडा कारबाही भइरहेको छ। हालसम्म ५ सय ४४ जना नेपाली नागरिक विभिन्न अभियोगमा साउदी जेलमा रहेका छन्।

तीमध्ये ३ सय ४५ जना व्यक्तिलाई मदिरा सम्बन्धी अभियोग लागेको छ भने ८४ जना लागुऔषध ओसारपसार, ५३ जना चोरी, १२ जना वेश्यावृत्ति, १६ जना तोडफोड, १५ जना घुस, ४ जना हत्यासम्बन्धी, ७ जना नियम उल्लङ्घन, र १६ जना अन्य आपराधिक कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।

जेलमा रहेका मध्ये ३ सय ४१ जनालाई अदालतले फैसला सुनाइसकेको छ भने बाँकी २ सय ३ जना अझै पनि फैसलाको प्रतीक्षामा छन्।

साउदीको कडा कानुन र अपरिचित संस्कृतिका कारण त्यहाँ काम गर्न गएका नेपालीहरू समस्यामा पर्ने गरेका छन्। साथीभाइको असर, जानकारीको अभाव र कानुन उल्लङ्घनले गर्दा धेरै नेपाली कानुनी झमेलामा परेको दूतावासले जनाएको छ।