महोत्तरी । मधेश प्रदेश दूधमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ । पशुपालक किसानले दुधालु मानिएका मुर्रा जातको भैँसीपालन गरेसँगै मधेश प्रदेश चाँडै दूधमा आत्मनिर्भर बन्ने अनुमान छ ।
कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिबासको अनुदान सहयोगमा किसानले भैँसी पालेका हुन् ।
आयोजनाले मधेशका पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गले छोएका ८४ पालिकालाई समेटेको आयोजना प्रमुख राजेश साहले बताए । उनले दूध, मासु र अन्य सागसब्जी उत्पादनका योजनालाई प्राथमिकता दिएकामा ५० समूहका किसानले दुधालु जातका मुर्रा भैँसीपालनको योजना अघि बढाएकाले यसले मधेशलाई दूधमा आत्मनिर्भर बनाउने अपेक्षा रहेको बताए ।
दूधको बजार सुनिश्चित गरी क्रेतासँग सम्झौतापछि भैँसीपालनको व्यावसायिक कार्य योजना अघि बढेका छन् ।
मुर्रा जातका एउटा भैँसीले कम्तीमा दैनिक २५ लिटरसम्म दूध दिने गरेको छ । किसानले पालेका भैँसीबाट दैनिक २० हजार लिटर दूध उत्पादन भइरहेको छ । एक किसानले औसतमा मासिक २४ हजार रुपैयाँ आम्दानी लिने गरेका छन् ।
आयोजनाले प्रत्येक कार्ययोजनाको कुल लागतमा ४५ प्रतिशत अनुदान दिने र ५५ प्रतिशत समूहले बेहोर्ने व्यवस्था छ ।


प्रतिक्रिया