गाजामा राहत लिने लाइनमा इजरायली सेनाको हमला :५१ प्यालेस्टिनीको मृत्यु

गाजामा राहत लिने लाइनमा इजरायली सेनाको हमला :५१ प्यालेस्टिनीको मृत्यु



काठमाडौं ।दक्षिण गाजाको खान युनिसमा खाद्यान्न सहायता लिन लाइनमा बसेका प्यालेस्टिनीहरूमाथि इजरायली सेनाले हमला गर्दा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।

खान युनिसको राहत वितरण केन्द्र नजिकै विश्व खाद्य कार्यक्रम (WFP) को पीठो वितरण केन्द्र र सामुदायिक भान्साघरतर्फ जाँदै गरेका सयौं मानिसहरू स्थानीय समयअनुसार बिहानैको समयमा आक्रमणमा परेका थिए। प्रत्यक्षदर्शीका अनुसार, इजरायली ड्रोनबाट दुईवटा मिसाइल प्रहार गरियो, त्यसपछि ट्याङ्कबाट गोला प्रहार गरिएको थियो। यस आक्रमणमा सर्वसाधारण प्यालेस्टिनीहरूले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन्। घाइतेहरूको अत्यधिक चापका कारण नासेर हस्पिटलमा उपचारमा समस्या भएको छ।

इजरायली सेना ((IDF) ले राहत ट्रक नजिकै भीड देखिएको र सैन्य गतिविधि भइरहेको अवस्थामा भीड सैनिकतर्फ आएपछि गोली चलाइएको स्वीकार गरेको छ। उनीहरूले घटनाको छानबिन भइरहेको बताएका छन्। यो घटना हालसम्म गाजामा राहत केन्द्र नजिकै भएका हिंसात्मक घटनाहरूमध्ये सबैभन्दा घातक मानिएको छ। यसैबीच, संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले इजरायलमाथि खाद्य वस्तुलाई हतियारका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् र घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका छन्।