पेरिस । इरान र इजरायलबीचको हवाई युद्धका कारण आप्रवासनमा वृद्धि हुन सक्ने टर्कीएले जनाएको छ ।
टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युद्धका कारण आप्रवासनमा वृद्धि हुन सक्ने युरोप र यस क्षेत्रलाई हानि पुर्याउन सक्ने चेतावनी दिएका हुन् ।
इरानले आणविक अस्त्र विकास गर्न लागेको भन्दै इजरायलले एक साताअघि ठूलो सङ्ख्यामा हवाई आक्रमण गरेपछि इरानले गरेको प्रतिकारका कारण युद्ध चर्किएको छ ।
जर्मनीका चान्सलर फ्रेडरिक मर्जसँगको टेलिफोन वार्तामा गरिएको उहाँको भनाइ उद्धृत गर्दै एर्दोगानको कार्यालयले भनेको छ, “इजरायलको आक्रमणले निम्त्याएको हिंसाको चक्रले यस क्षेत्र र युरोपलाई आप्रवासन समस्या बढाउने र आणविक चुहावटको सम्भावना रहने भएकाले यो युद्धले युरोपलाई व्यापक प्रभाव पार्नसक्छ ।
एर्दोगानले इरानसँगको आणविक असहमतिको समाधान ‘वार्ताबाट’ मात्रै हुने बताएका छन् ।
उनले हिंसाले क्षेत्रीय सुरक्षाका लागि खतरालाई उच्च स्तरमा पुर्याएको र टर्कीएले ‘द्वन्द्व अन्त्यका लागि प्रयास गरिरहेको’ बताए ।
बढ्दो द्वन्द्वका बावजुद टर्कीएको रक्षा मन्त्रालय स्रोतले बिहीबार इरानबाट बाहिरिने सङ्ख्यामा ‘कुनै वृद्धि’ नभएको बताएको छ ।
टर्कीएका अधिकारीहरूले यस दावीलाई पुष्टि गर्ने कुनै तथ्याङ्क सार्वजनिक गरेका भने छैनन् ।
टर्कीएको पूर्वी शहर वान नजिकैको मुख्य कापिकोय सीमा नाकामा एएफपीका संवाददाताहरूले दुवै दिशाबाट सयौं मानिस पार गरेको देखेको बताएका छन् ।
रक्षामन्त्री यासर गुलेरले बुधबार सीमाक्षेत्रको भ्रमणका क्रममा भने, “हाम्रो सीमामा सुरक्षा व्यवस्था बढाइएको छ ।”


प्रतिक्रिया