इजरायल–इरान द्वन्द्व : एकअर्काको सैन्य स्थलमा आक्रमण

इजरायल–इरान द्वन्द्व : एकअर्काको सैन्य स्थलमा आक्रमण



काठमाडौं । इजरायल र इरानबिचको द्वन्द्व चर्किँदै गएपछि दुवै देशले एकअर्काको सैन्य स्थलहरूमा आक्रमण गर्न थालेका छन् ।

इरानका कयौँ सैन्य अड्डाहरूमा आक्रमण गरिएको इजरायली रक्षा बल (आईडीएफ)ले बताएको छ । आईडीएफले माइक्रो ब्लगिङ वेबसाइट एक्समार्फत उक्त जानकारी दिएको हो ।

‘आईडीएफले पश्चिमी इरानका कयौँ सैन्य अड्डाहरूमा आक्रमण गर्न थालेको छ । आज बिहान, आईडीएफले इजरायलमाथि आक्रमण गर्न तयार रहेका ती मिसाइल लन्चरहरूलाई पनि निशाना बनाएको छ ,’उक्त पोस्टमा लेखिएको छ ।

आफ्ना सेनाले इरानी सैनिकहरूलाई समेत आक्रमण गरेको बताइएको छ । ‘केही समय अघि इजरायलतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरू पनि तुरुन्तै निष्क्रिय पारिएका थिए,’ आईडीएफले भनेको छ ।

यस्तै इरानले पनि बेन गुरियन विमानस्थल सहित इजरायलका धेरै क्षेत्रहरूलाई निशाना बनाएर आक्रमण गरिरहेको छ । यस बाहेक आक्रमण गरिएका अन्य ठाउँमा इजरायली सेनालाई मद्दत गर्ने केन्द्रहरू, सेनाको कमान्ड र नियन्त्रण कार्यालय र जैविक अनुसन्धान केन्द्र समावेश छन् ।