काठमाडौं । बहिनीको जन्मदिन मनाउने भन्दै बोलाएर साथीको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । बाराको निजगढ नगरपालिका– ८ का ३२ वर्षीय कृष्ण लामाको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुर घर भइ बुढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने विकास लामा लो, बाराको निजगढ नगरपालिका–७ घर भएका २९ वर्षीय सुगन्द लामा, निजगढ नगरपालिका–५ घर भएका १८ वर्षीय सौगात क्षेत्री र मकवानपुरको बकैया गाउँपालिका–२ घर भएका २३ वर्षीय निसान जिम्भा छन् ।
कृष्णलाई विकासले ६ असारको राति आफ्नै कोठामा बोलाएका थिए ।
प्रहरीका अनुसार जन्मदिनको बहानामा बोलाएर अन्य तीन साथीको सहयोगमा उनलाई निर्घात कुटपिट गरिएको थियो ।
जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएर उनीहरूविरुद्ध अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
‘उनीहरू साथीहरू नै हुन् । मदिरा पिएपछि विवाद भएको रहेछ । त्यसपछि कुटपिट गरी कृष्णको हत्या गरेको खुलेको छ,’ एसपी बोहराले भने ।
यस घटनामा मुख्य आरोपी विकास हुन् । प्रहरीका अनुसार उनको र मृतक कृष्ण लामाबीच पहिले चिनजान थिएन ।
विकास शुक्रबार दरबारमार्गबाट आफ्नो मामासँग कफी पिएर बेलुकी ७ बजेतिर छुटेका थिए । त्यसदिन उनकी बहिनीको जन्मदिन थियो ।
बूढानीलकण्ठ घर नजिकै कृष्ण लामा, सौगात क्षेत्री, निसान जिम्बा र सुकान्त लामा डेरा गरी सँगै बसिरहेका थिए ।
अरूसँग पहिल्यै चिनजान भए पनि कृष्णसँग विकासको चिनजान थिएन । त्यही दिन बाँकी तीन साथीहरूले चिनाए ।
विकासले उनीहरु चारै जनालाई बहिनीको जन्मदिन छ भनेर घरमा बोलाएका थिए । बहिनीको जन्मदिन सकेर उनीहरू त्यहाँबाट बहिनीले नै काम गर्ने रेस्टुरेन्टमा फर्किए ।
पाँच जना उनीहरू राति अबेरसम्म रेस्टुरेन्टमै थिए । १ बजेपछि मात्रै पाँचै जना विकासको डेरामा फर्किएका थिए । सबै जना एउटै कोठामा सुतेका थिए ।
विकास र कृष्ण सँगै खाटमा र अन्य तीन जना भुइँमा सुतेका थिए । सुत्ने क्रममा कृष्णले आफ्नो संवेदनशील अंगमा समाएकाे प्रहरीसमक्षको प्रारम्भिक बयानमा विकासले बताएका छन् ।
त्यसपछि आवेगमा आएका विकासले कृष्णमाथि चार/पाँच पटक मुक्का प्रहार गरेका थिए । खुट्टाले समेत हिर्काएपछि कृष्ण रगताम्मे भएर लडे ।
अरू साथीहरूले समेत छुट्याउने कोसिस गरेका थिए । तर उनको त्यहीँ मृत्यु भएको थियाे । अस्पतालमा पनि लैजाने स्थिति नभएपछि उनीहरुले शव त्यहीँ राखेका थिए ।
मार्ने पूर्वयोजना भन्दा पनि एकछिनको विवादका कारण उनको ज्यान गएको देखिएको प्रहरीले बताएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिएका छन् ।


प्रतिक्रिया