वीरगञ्जमा गहवामाई रथयात्रालाई लिएर उच्च सुरक्षा सतर्कता

वीरगञ्जमा गहवामाई रथयात्रालाई लिएर उच्च सुरक्षा सतर्कता



काठमाडौँ । वीरगञ्जमा शुक्रबार आयोजना हुन लागेको गहवामाई रथयात्रालाई लक्षित गर्दै सुरक्षा व्यवस्था उच्च सतर्कतामा राखिएको छ। जिल्ला प्रशासन कार्यालय वीरगञ्जका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायलाई सतर्क बनाइएको छ।

गहवामाई मन्दिरको पुनर्निर्माण सम्पन्न भएको १३ वर्ष पुगेको अवसरमा आयोजना हुने यस रथयात्रामा करिब एक लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ। तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलले नेपालका विभिन्न जिल्ला तथा भारतका सीमावर्ती शहरबाट भक्तजन आउने बताएका छन्।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार रथयात्राको रुटमा सुरक्षा निकायको टोलीले स्थलगत निरीक्षणसमेत गरेको छ। सम्भावित जोखिमको स्क्यानिङ र निगरानी गरिएको र पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिने उनले जनाए।

यसअघि चैत ३० गतेको हनुमान जयन्ती शोभा यात्रामा धार्मिक झडप भई कर्फ्यु लगाउनु परेको अनुभवलाई ध्यानमा राख्दै यो पटक सुरक्षालाई अझ कडाइ गरिएको हो। मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमा चर्तुवेदीले पनि केही दिनअघि वीरगञ्जको स्थलगत निरीक्षण गरेका थिए र मातहतका निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए।

रथयात्रालाई सहज बनाउन वीरगञ्ज महानगरपालिकाले शुक्रबारका लागि सबै विद्यालयहरूमा बिदा दिएको छ। सुरक्षा र व्यवस्थापनलाई लिएर विभिन्न चरणमा सुरक्षा निकाय र आयोजकबीच समन्वय र छलफल भइरहेका छन्।