ट्रम्पले इरानमाथिको आक्रमणलाई हिराेशिमा र नागासाकीमा खसालिएकाे परमाणु बमसँग तुलना गरेपछि…

ट्रम्पले इरानमाथिको आक्रमणलाई हिराेशिमा र नागासाकीमा खसालिएकाे परमाणु बमसँग तुलना गरेपछि…



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमणलाई हिरोशिमा र नागासाकीमा खसालिएको परमाणु बमसँग तुलना गरेकोमा जापानले आलोचना गरेको छ ।

राष्ट्रपति ट्रम्पले इरानमाथि अमेरिकाले गरेको पछिल्लो आक्रमणलाई दोस्रो विश्वयुद्ध समाप्त गर्ने हिरोशिमा र नागासाकीमा गरिएको बम विस्फोटसँग तुलना गरेकोमा जापानले निन्दा गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले इरानको आणविक स्थलहरूमा अमेरिकाले गरेको आक्रमणले युद्ध समाप्त भएको बताएका थिए । ‘म हिरोशिमा र नागासाकीको उदाहरण दिन चाहन्नँ तर यो मूलतः उस्तै थियो’, ट्रम्पले बुधवार पत्रकारहरूलाई भनेका थिए ।

सन् १९४५ को अगस्टमा अमेरिकाले जापानका दुई दक्षिणी शहरहरूमा परमाणु बम खसाल्दा झन्डै १ लाख ४० हजार जना मारिएका थिए । यो आक्रमणबाट बाँचेकाहरू अझै पनि मनोवैज्ञानिक आघात र क्यान्सरको बढ्दो जोखिमसँग जुधिरहेका छन् ।

नागासाकीका मेयर शिरो सुजुकीले यदि ट्रम्पको टिप्पणीले परमाणु बम खसाल्नुलाई जायज ठहराउँछ भने त्यो आफूहरूका लागि अत्यन्तै खेदजनक रहने बताएका छन् ।

यसैबीच परमाणु बम आक्रमणबाट बाँचेकाहरूले हिरोशिमामा विरोध प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपति आफ्नो बयान फिर्ता लिन माग गरेका छन् । यस्तै हिरोशिमाका सांसदहरूले पनि परमाणु बमको प्रयोगलाई औचित्य दिने भनाइहरूलाई अस्वीकार गर्दै सशस्त्र द्वन्द्वहरू शान्तिपूर्ण रूपमा समाधान गर्न आह्वान गर्ने प्रस्ताव पारित गरेका छन् ।