काठमाडौं । क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल सेवा कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ । अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता शुरू हुने बीबीसीले जनाएको छ ।
अब प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच व्यापारबारे फेरि वार्ता हुने सहमति भएको क्यानडाको अर्थ मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यसअघि शुक्रवार ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीहरूलाई कर लगाउने तयारी गरिरहेका कारण क्यानडाले व्यापार वार्ता रोकेको आरोप लगाएका थिए ।
यस वर्षको शुरूमा अमेरिका–क्यानडाबीचको व्यापार तनाव बढेको थियो र दुई देशले एकअर्काको सामानमा कर लगाएका थिए । धेरै ठूला प्राविधिक कम्पनीहरूले क्यानाडामा कमाएको आम्दानीमा कर तिर्दैनन् भन्ने कारणले डिजिटल सेवा कर प्रस्ताव गरिएको सरकारले जनाएको छ ।
यस्तै क्यानडाले अमेरिकासहित अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर साझा डिजिटल कर ढाँचा विकास गर्न काम गरिरहेको खबरमा उल्लेख छ ।
प्रतिक्रिया