पाकिस्तानमा एक सातादेखि जारी भारी वर्षा र बाढीले ६४ जनाको मृत्यु

पाकिस्तानमा एक सातादेखि जारी भारी वर्षा र बाढीले ६४ जनाको मृत्यु



पाकिस्तानमा विगत एक सातादेखि जारी भारी वर्षा र आकस्मिक बाढीका कारण ६४ जनाको ज्यान गएको छ ।

बाढीमा परेर १ सय १७ जना घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, सबैभन्दा बढी क्षति उत्तरपश्चिमस्थित खैबर पख्तुनख्वा प्रान्तमा भएको छ । त्यहाँ १० जना बालबालिकासहित २३ जनाको ज्यान गएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार स्वात उपत्यकामा मात्र गत साता आएको बाढीले १४ जनालाई बगाएको बताइएको छ । पूर्वी पञ्जाब प्रान्तमा घर भत्किँदा र बाढीको कारण २१ जनाले ज्यान गुमाएका छन । दक्षिणी सिन्ध प्रान्तमा १५ जनाको निधन भएको छ भने दक्षिणपश्चिम बलुचिस्तानमा पनि पाँच जनाको ज्यान गएको छ ।

पाकिस्तानको जलवायु पूर्वानुमान विभागले शनिबारसम्म अझै भारी वर्षा र बाढीको जोखिम कायमै रहेको भन्दै सतर्क रहन सबैलाई आग्रह गरेको छ । यसअघि, गत वैशाख महिनामा पनि पाकिस्तानमा आएको भीषण आँधी र चट्याङका कारण ३२ जनाको ज्यान गएको थियो ।

सन् २०२२ मा आएको विनाशकारी मनसुन बाढीले देशको एक तिहाइ भूभाग डुबानमा परेको थियो र झण्डै एक हजार ७ सय जनाको ज्यान गएको थियो ।