रुसले युक्रेनमा भीषण हवाई हमला गरेको छ । रुसी सेनाले युक्रेनको राजधानी किभ लगायतका विभिन्न शहरहरूलाई निशाना बनाएर ५ सय ५० वटा ड्रोन र ११ वटा मिसाइल प्रहार गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसले प्रहार गरेका मध्ये ४ सय ७६ वटा ड्रोन हवाई प्रतिरक्षा प्रणालीले नष्ट पारेको युक्रेनी वायु सेनाले जनाएको छ । रुसले युक्रेनको सुमी, खार्किभ र चेर्निहिभ क्षेत्रहरूमा पनि आक्रमण गरेको छ जुन आक्रमणलाई युद्ध शुरू भएयताकै ठूलो मानिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको फोन वार्ताको केही घण्टापछि युक्रेनमा यो आक्रमण भएको हो । यो कुराकानीपछि अमेरिकी राष्ट्रपतिले पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न तयार नभएकोमा आफू निराश भएको बताएका थिए ।
ट्रम्पको युद्धविराम प्रस्तावलाई पुटिनले अस्वीकार गरेपछि किभमा ड्रोन आक्रमण बढेको हो । यस्तै, युक्रेनले पनि रुसमा ड्रोन आक्रमण गरेको छ । यसैबीच युक्रेनसँगको युद्धमा हिजो रुसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभको ज्यान गएको थियो ।
प्रतिक्रिया