काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न प्रस्ताव गरेका छन् ।
आइतबार केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै कोइरालाले संविधान संशोधन गर्दा यही कुरा राख्न प्रस्तावसमेत गरेका हुन् ।
उनले भने, ‘धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राखौं, नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०७१ असार १७ गते भएको ७ बुँदे सहमतिमा पनि संविधान संशोधन गर्ने भनिएको थियो, पहिलो संशोधन यहीँबाट गरौं ।’
साथै उनले निर्वाचन प्रणाली हेर्न पनि सुझाव दिएका छन् । उनले भने, ‘प्रतिनिधि सभा सबै प्रत्यक्ष गरौं र राष्ट्रिय सभा पूर्ण समानुपातिक गरौं । अहिलेको निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने देखिँदैन ।’
कोइरालाले पार्टीलाई एक ढिक्का बनाउने कुरा गरेकोमा सभापति शेरबहादुर देउवालाई धन्यवाद पनि दिएका छन् ।
प्रतिक्रिया