बिहारमा बोक्सीको आशंकामा एकै परिवारका पाँच जनाको हत्या

बिहारमा बोक्सीको आशंकामा एकै परिवारका पाँच जनाको हत्या



बिहार। बिहारको पूर्णिया जिल्लामा बोक्सी भएको आशङ्कामा एक परिवारका पाँच जनाको हत्या गरिएको छ । यो घटना आइतबार भएको हो । सोमबार पीडित परिवारका एक बालक आफ्ना मामाका आफन्तहरूसँग प्रहरी चौकीमा पुगेपछि यो कुरा बाहिर आएको हो ।

पूर्णिया जिल्लाको मुफस्सिल प्रहरी चौकी क्षेत्र अन्तर्गत राजीगन्ज पञ्चायतको तेटगामा गाउँमा अन्धविश्वासका कारण एउटै परिवारका पाँच जनालाई पेट्रोल छर्केर जिउँदै जलाइएको हो । प्रहरीले यस घटनाको जानकारी पाएपछि पूर्णिया प्रहरी टोली र घटनास्थलमा रहेको स्क्वाड डग टोलीले यस विषयमा गहन अनुसन्धान गर्दै थप अनुसन्धान सुरु गरेको छ ।

मृतकका पीडित परिवारका सदस्यहरूसँग कुरा गर्दा उनीहरूले यो घटनाबाट आफ्नो मुटु छियाछिया भएको बताए । पीडितका भाइ डोमन उराँवका अनुसार उनकी बहिनीको ससुरालीमा बोक्सीको आरोप लगाउँदै दिदी, भिनाजु र भान्जा लगायत परिवारका अन्य सदस्यहरूलाई गाउँलेहरूले कुटपिट गरी पेट्रोल छर्केर जिउँदै जलाएका थिए ।

यसपछि गाउँलेहरूले यस निर्मम हत्यालाई लुकाउने प्रयास पनि गरे । तर केही घण्टापछि नै यस गाउँका मानिसहरूको यो घृणित कार्य पर्दाफास भयो ।

मृतकका आफन्तहरूले बताए अनुसार उनीहरू कुनै झारफुकको काम गर्दैनथे । गाउँलेहरूले झुटो शङ्कामा उनीहरूको परिवारको हत्या गरे ।

मृतक परिवारमा बाबुलाल उराँव र उनकी पत्नी, उनकी आमा, बुहारी र छोरा सामेल छन् । यद्यपि केही स्थानीयको भनाइ अनुसार, बाबुलालको परिवार झारफुकको काम गर्थ्यो। तन्त्र विद्याका कारण बलि चढाउने काम गर्थे । पीडित परिवारकी एक महिला बोक्सी भएको उनीहरूले शङ्का गरेका थिए ।

भारतमा यस्तो घटना नौलो भने होइन । जुन महिनाको सुरुमा बिहारको मुजफ्फरपुर जिल्लामा पनि यस्तै घटना भएको थियो। बिहार र देशका अन्य भागहरूमा बोक्सीको नाममा हत्या र उत्पीडनका घटनाहरू डरलाग्दा छन् ।

बोक्सी प्रथासँग सम्बन्धित यो क्रूरता भारतका धेरै राज्यहरू जस्तै छत्तीसगढ, मध्य प्रदेश, झारखण्ड र ओडिशामा अझै पनि प्रचलित छ। हरेक पटक जब कुनै महिलालाई बोक्सी भएको आरोपमा कुटपिट गरिन्छ, यसले मानवतालाई गहिरो चोट पुर्‍याउँछ ।

राष्ट्रिय अपराध अभिलेख ब्यूरोको २०२२ को तथ्याङ्कहरू अनुसार, २०२२ मा देशभरि बोक्सीको नाममा ८५ वटा हत्या दर्ता भएका थिए। तर प्रहरी कहाँ रेकर्ड नभएका घटनाको सङ्ख्या धेरै बढी छ । धेरै पीडित महिलाहरू कहिल्यै प्रहरी चौकी पुग्दैनन् ।