काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप रक्षात्मक हतियार पठाउने योजनामा रहेको बताएका छन् ।
“हामी थप हतियार पठाउन गइरहेका छौँ, हामीले गर्नैपर्छ किनभने उनीहरूले आफ्नो रक्षा गर्न सक्नुपर्छ,” ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको रात्रिभोजअघि भने ।
“उनीहरू निकै कठिन अवस्थाबाट गुज्रिरहेका छन् । हामीले थप हतियार पठाउनुपर्छ,” ट्रम्पले थपे, “मुख्यरूपमा रक्षात्मक हतियार । तर, उनीहरू निकै कठिन अवस्थामा छन् ।”
राष्ट्रपतिको पछिल्लो भनाइ गत साता ट्रम्प प्रशासनले युक्रेनलाई हवाई रक्षा मिसाइललगायत केही हतियार आपूर्ति रोकेपछि आएको हो ।
यो निर्णय सैन्य खर्च र विदेशी देशलाई अमेरिकी सहायता समीक्षापछि आएको थियो, जसमा रक्षासचिव पिट हेगसेथले हस्ताक्षर गरेका थिए ।
ह्वाइट हाउसकी उपप्रेससचिव अन्ना केलीले त्यस समयमा यो निर्णय अमेरिकाको हितलाई प्राथमिकता दिन गरिएको बताएकी थिइन् ।
युक्रेनलाई दिइने सहायता समीक्षा आंशिकरूपमा पेन्टागनको चीनमा केन्द्रित हुने र भविष्यमा प्रशान्त क्षेत्रमा सम्भावित द्वन्द्वका लागि तयार रहने नीतिका कारणले काटिएको केही अमेरिकी अधिकारीहरूले बताएका थिए ।


प्रतिक्रिया