ट्रम्पले ३ दिनमा २१ देशमाथि लगाए ट्यारिफ

ट्रम्पले ३ दिनमा २१ देशमाथि लगाए ट्यारिफ



वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यतिबेला ट्यारिफ अर्थात अतिरिक्त महसुलको आतंक मच्चाइरहेका छन् । एकपछि अर्को गर्दै उनले विश्वका विभिन्न देशहरूमाथि ‘ट्यारिफ आतंक’ मच्चाइरहेका हुन् ।

तीन दिनमा उनले २१ देशहरूबाट अमेरिका आउने सामानमा भन्सारमा ट्यारिफ लगाउने घोषणा गरे । सोमबार ट्रम्पले ट्यारिफसम्बन्धी पत्र जापान, कोरियासहित १४ देशहरूमा पठाए । एक दिनको शान्ति पछि बुधबार पुनः ट्यारिफ लगाइएका ७ देशहरूको सूची जारी गरे । ब्रिक्सको एक सदस्य देश रहेको ब्राजिलमाथि ५० प्रतिशतको उच्चतम ट्यारिफ लगाइएको छ । अगस्ट १ अघि, अन्य देशहरूलाई पनि अमेरिकाले ट्यारिफ झट्का दिने अनुमान भइरहेको छ ।

ट्रम्पले बुधबार सात देशहरूलाई ट्यारिफ पत्र पठाएर तिनीहरूमाथि २० देखि ५० प्रतिशत सम्मको ट्यारिफ लगाइएको घोषणा गरे । ट्रम्प ट्यारिफको कडा आलोचक ब्राजिल ट्रम्पको निशानामा अग्रपंक्तिमा देखियो । ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले ट्यारिफको मामिलामा ट्रम्पलाई निशाना बनाउँदै संसारलाई अब सम्राटको आवश्यकता छैन भनेका थिए । यसको प्रतिकारमा ट्रम्पले ब्राजिलमाथि ५० प्रतिशत ट्यारिफ लगाए । अहिलेसम्म ट्यारिफ लगाइएको देशको सूचिमध्ये यो सबैभन्दा धेरै हो ।

यसअघि सोमबार ट्रम्पले जापान, दक्षिण कोरिया, म्यानमार, लाओस्, दक्षिण अफ्रिका, मलेसिया लगायत १४ देशमाथि ट्यारिफ लगाएका थिए । यो सूचीमा परेका देशलाई २५ देखि ४० प्रतिशतको ट्यारिफ लगाएका थिए ।

ट्रम्पले ट्यारिफ लागू हुने मिति बारम्बार सारेका थिए । अगस्टको सुरुमा पुगेको यो म्यादमा अब कुनै हेरफेर नहुने सङ्केत उनले पछिल्लो पटक गरेका छन् ।