काठमाडौं । मध्य गाजामा पानीको कन्टेनर भर्न पर्खिरहेका ६ बालबालिकासहित १० जनाको इजरायली हवाई आक्रमणमा परी मृत्यु भएको आपत्कालीन सेवाका अधिकारीहरूले बताएका छन् ।
अल–नुसैरत शरणार्थी शिविरमा पानी ट्याङ्करको छेउमा खाली जेरी क्यान लिएर लाइनमा उभिएका भीडमा ड्रोनले मिसाइल प्रहार गरेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणपछि स्थानीयवासीहरू घटनास्थलमा पुगेर निजी गाडी र गधाले तान्ने गाडा प्रयोग गरेर घाइतेहरूलाई अस्पताल पुर्याएका खबरमा उल्लेख छ ।
यसैबीच रेडक्रसको अन्तर्राष्ट्रिय समितिले दक्षिणी गाजामा रहेको रफाह फिल्ड अस्पतालमा विगत ६ हप्तामा अघिल्ला १२ महिनाको तुलनामा धेरै सामूहिक हताहतका घटनाहरूको उपचार गरेको बताएको छ ।
गाजा पट्टीमा इजरायली हवाई आक्रमण बढ्दै गएपछि यो हमला भएको हो । गाजाको नागरिक रक्षा एजेन्सीका प्रवक्ताले आइतवार मध्य गाजा र गाजा शहरका आवासीय भवनहरूमा भएका तीन वटा छुट्टाछुट्टै आक्रमणमा १९ जना प्यालेस्टिनीको ज्यान गएको बताएका छन् ।


प्रतिक्रिया