गुप्तचर अधिकारीको हत्यापछि रुसका दुई एजेन्ट मारिए : युक्रेन

गुप्तचर अधिकारीको हत्यापछि रुसका दुई एजेन्ट मारिए : युक्रेन



किभ । युक्रेनले बिहीबार एक वरिष्ठ युक्रेनी गुप्तचर अधिकारीको गोली हानी हत्या भएपछि रुसका लागि काम गर्ने दुई एजेन्ट मारिएको बताएको छ ।

युक्रेनको सुरक्षा सेवा (एसबीयू) का प्रमुख भासिल माल्युकले एक भिडियो विज्ञप्तिमा रुसको सुरक्षा सेवा एफएसबीका लागि काम गर्ने दुई एजेन्टहरूलाई ट्र्याक गरी आइतबार बिहान गिरफ्तारको प्रयास गर्दा प्रतिरोध गरेपछि मारिएको बताएका हुन् ।

यो घटना कर्णेल इभान भोरोनिचलाई बिहीबार दिउँसो किभको एक कार पार्किङमा धेरै गोली हानेर हत्या गरिएको केही दिनपछि भएको हो । अज्ञात आक्रमणकारीले उनलाई नजिकबाट गोली हानी घटनास्थलबाट भागेका थिए ।

युक्रेनको प्रहरीले आइतबार मारिएका दुई एजेन्टहरूमध्ये ‘एक विदेशी नागरिक’ भएको बताएको छ, तर थप विवरण दिएको छैन। मस्कोले यसमा तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।

जुलाई १० को घटनाको सीसीटीभी फुटेजमा स्थानीय समय अनुसार बिहान ९:०० बजे किभको दक्षिणी होलोसिभ्स्की जिल्लाको एक भवनबाट एक व्यक्ति बाहिर निस्कँदै गरेको र अर्को व्यक्ति उनको नजिक दौडिरहेको देखिएको छ ।

एसबीयूले आइतबार बताएअनुसार, संदिग्धहरूले आक्रमण गर्नुअघि कर्णेल भोरोनिचको गतिविधिको निगरानी गरिरहेका थिए । उनीहरूको लुक्ने ठाउँको साइलेन्सरसहितको पेस्तोल फेला पारिएको बताइएको छ ।