काठमाडौं । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ६२.६ मिलिमिटर पानी परेको छ । राति खोटाङ, उदयपुर, ओखलढुङ्गा र आसपासमा बाढी आउने गरी पानी परेको थियो ।
आज दिउँसो पनि सबै प्रदेशका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


प्रतिक्रिया