काठमाडौं । काठमाडौंस्थित धरहरा अबदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिए ।
उनका अनुसार, अब सार्वजनिक बिदाको दिन पनि अब धरहरा चढ्न पाइनेछ । “अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दै छौँ । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि अब खुला रहनेछ,” मन्त्रालयका प्रवक्ता मैनालीले भने ।
धरहरा अहिले दैनिक बिहान १० देखि अपराह्न ४ बजेसम्ममात्र खुला रहने गरेको छ । अहिले सार्वजनिक बिदाको दिन धरहरा बन्द हुन्छ । शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।
२०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि यही असोज ३ गतेबाट परीक्षणका रूपमा खुला गरिएको थियो ।
गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो । सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको भन्दै गुनासो गर्दै आएका थिए भने सार्वजनिक बिदाको दिन बन्द नगर्न सुझाव दिएका थिए ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहका अनुसार नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढोस् भन्ने चाहना अनुसार तयारी गर्न भनेपछि मन्त्रालयले सोही अनुसार दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो ।


प्रतिक्रिया