काठमाडौं । प्यालेस्टाइनको गाजामा सहायता वितरण स्थलमा भागदौड हुँदा २० जनाको ज्यान गएको छ ।
दक्षिणी गाजामा रहेको एक सहायता वितरण केन्द्रमा भागदौड हुँदा खाना लिन खोज्ने २० जनाको ज्यान गएको अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउन्डेशन (जीएचएफ) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भीडले कुल्चिएर १९ जनाको ज्यान गएको र एक जनामाथि छुरा प्रहार भएको हो । भीडमा विद्रोही समूह हमाससँग सम्बन्धित व्यक्तिहरू रहेको जीएचएफको विज्ञप्तिमा उल्लेख छ । यद्दपि यसबारेमा स्वतन्त्र पुष्टि हुन नसकेका खबरमा उल्लेख छ ।
यसअघि खान युनिसको नासेर अस्पतालले निसास्सिएर ज्यान गुमाएका १० जनाको शव प्राप्त गरेको बताएको थियो ।
जीएसएफले गएको मे महिनाको अन्त्यदेखि सहायता वितरण गर्न थालेको थियो । त्यस बेलादेखि सहायता प्राप्त गर्ने प्रयास गर्दा प्यालेस्टिनीहरूको ज्यान गएको समाचार दैनिकसजो आइरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले दक्षिणी र मध्य गाजामा रहेका चार वटा जीएचएफ सहायता केन्द्र वरिपरि विगत ६ हप्तामा ६ सय ७४ जनाको ज्यान गएको बताएको छ ।


प्रतिक्रिया