बाढीले केरुङमा फसेका नेपालीलाई तातोपानी नाकाबाट ल्याउने तयारी

बाढीले केरुङमा फसेका नेपालीलाई तातोपानी नाकाबाट ल्याउने तयारी


ग्लोब नेपाल
135
Shares

रसुवा । असार २४ गते चीनको लेन्देखोलाबाट आएको बाढीले चीन र नेपालको सिमानामा रहेको मितेरी पुल बगाएपछि चीनतर्फ फसेका नेपालीहरुलाई तातोपानी नाका हुँदै नेपाल ल्याउने प्रयास भई रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार केरुङमा कामका लागि गएका चालक तथा सहचालक सहितका अन्य नेपालीहरुलाई स्वदेश ल्याउनका लागि चिनियाँ पक्षसँग पहल भइरहेको बताए ।

नेपाल चीनको सिमानामा रहेको मितेरी पुल निर्माण गर्न केही समय लाग्ने भएपछि चीनतर्फ फसेका नेपालीहरुलाई तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो ।

नेपाल तर्फबाट चिनियाँ पक्षलाई बाढीमा फसेकाहरुको नामाबली पठाई सकेकाले उनीहरुले तातोपानी नाकाबाट नेपाल ल्याउने गरी काम गरिरहेको चिनियाँ पक्षले जानकारी गराएको उनको भनाई छ ।

केरुङमा फसेका नेपाली कन्टेनर चालक बद्री आचार्यका अनुसार बाढीको समयमा रसुवागढी नाकाबाट चिनियाँ पक्षले ३५ जना नेपालीहरुको उद्घार गरी केरुङ पुर्‍याई होटलमा राखेको छ ।

चालक आचार्यले केरुङमा थप करिब दुई सयका हाराहारीमा चालक र सहचालका फसिरहेको बताए । कतिपय श्रमिकहरुको नियमित खाने औषधि सकिएको छ भने कतिपयको पैसा सकिएर बेखर्ची भएको बताइएको छ ।