भारी वर्षाको सम्भावना, सुरक्षित स्थानमा बस्न प्रधानमन्त्रीको आग्रह

भारी वर्षाको सम्भावना, सुरक्षित स्थानमा बस्न प्रधानमन्त्रीको आग्रह



काठमाडौं । देशको विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमानसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशको विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। उक्त जानकारीका आधारमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै जनसाधारणलाई सुरक्षित रहन अपिल गरेका हुन् ।

‘मौसम विज्ञान विभागले आज दिउँसो देशको विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ, मौसमजन्य विपद्‌बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ, अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु’ प्रधानमन्त्रीले लेखेका छन् ।

प्रधानमन्त्रीले सुरक्षाकर्मीलाई पनि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई सक्रिय रहन आग्रह गरिएको छ ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ३ गते रातिदेखि ५ गते सोमबारसम्म देशको विभिन्न स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।