मिटरब्याजीले मानसिक यातना दिएपछि शिक्षिकाद्वारा विद्यालयमै झुन्डिएर प्राण त्याग

मिटरब्याजीले मानसिक यातना दिएपछि शिक्षिकाद्वारा विद्यालयमै झुन्डिएर प्राण त्याग


ग्लोब नेपाल
135
Shares

काठमाडौं । मिटिरब्याजीसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएर चुक्ता गरेपछि पनि अझै ४५ लाख रुपैयाँ तिर्न बाँकी देखाएपछि एकजना शिक्षिकाले विद्यालयको कक्षा कोठामा पासो लगाएर प्राण त्याग गरेकी छन् । धनुषको मिथिला नगरपालिका–८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा पढाउने शिक्षिका विमला कुमारी ध्रोङचिङ मगर बाल विकास कक्षा कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

परिवारजनका अनुसार ३४ वर्षीया विमला सोही विद्यालयमा बाल विकास कक्षामा पढाउँदै आएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा मिटरब्याजी जनकपुरधाम उपमहानगरपालिका–९ का ५५ वर्षीय राजकिशोर यादवसँग मृतक मगरले ऋण लिएकी थिइन् ।

घटनास्थल नजिकै रहेको मगरको ज ११ प ७४९२ नम्बरको स्कुटीको डिक्कीबाट प्रहरीले सुसाइड नोट समेत बरामद गरेको जनाएको छ । घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मिटरब्याजी यादवसमेत जोडिएको देखिएकाले उनलाई साउन २ गते नै पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दा चलाइएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन ।

उनका अनुसार मृतक मगरले यादवसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएकी थिइन् । ऋण चुक्ता गरिसकेको भए पनि यादवले खाली चेक लिएर ४५ लाख रुपैयाँ उल्लेख गरेर बार्गेनिङ गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यादवले पटक पटक मानसिक यातना, धाक धम्की र बेज्जती गर्ने चेतावनी दिएको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी सिंहले जानकारी दिए ।