काठमाडौं । भक्तपुरको थिमी नगरपालिका–८ बोडेस्थित सिन्टीटारमा मृत भेटिएका दिदी बहिनी भारतबाट ३ साताअघि भागेर भक्तपुर आएका थिए । उनीहरू आज बिहान मृत फेला परेका थिए । भारतको महाराष्ट्रस्थित मुम्बईको मिरा भाइन्दरबाट १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना भागेर नेपाल आएका थिए ।
उनीहरूको स्थायी ठेगाना भने सुर्खेतको पञ्चपुरी नगरपालिका–८ हो । प्रहरीका अनुसार उनीहरू स्थानीय चक्रधर प्रजापतिको घरमा डेरा लिएर बस्दै आएका थिए । सोही घरको डेराको प्यासेजमा झुन्डिएको अवस्थामा दिदी बहिनीको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।
भारतबाट भक्तपुरमा आए लगत्तै डेरा खोज्न जाँदा उनीहरूले भनेका थिए, ‘यहाँ कलेज पढ्छौँ ।’ मुम्बईमा अभिभावकलाई कम्प्युटर कक्षा जान्छौँ भनेर हिँडेका उनीहरू नफर्किएपछि सुरुमा अभिभावकले भारतीय प्रहरीलाई जानकारी गराएका थिए । भारतीय सञ्चार माध्यम ‘सिगास टेलिभिजन’सँग कुरा गर्दै मृतककी आमा उमा कँडेलले भनेकी छन्, ‘कम्प्युटर कक्षा लिन जान्छौँ भनेर उनीहरू डेराबाट निस्केका थिए’ पछि दिदी बहिनीले बाबुआमालाई दक्षिण भारत गएको म्यासेज गरेका थिए ।
आमा उमा कँडेलका अनुसार भ्वाइस म्यासेज पठाएर उनीहरूले भनेका थिए, ‘हामी बैंगलोर गयौं, पैसा कमाएपछि आउँछौँ ।’ मेनुका दिदी र सृजना बहिनी हुन् । हराएपछि प्रहरीलाई भनेर लोकेशन हेर्दा भिउण्डी पुगेको देखिएको उमाले भारतीय सञ्चारमाध्यमलाई जानकारी गराएकी छन् । मृत फेला परेका उनीहरूले गएराति टिकटक पनि बनाएको भेटिएको छ ।
यस्तै घटनास्थलमा मोबाइल फेला परेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार भक्तपुरमा आएपछि उनीहरूले एउटा गार्मेन्टमा काम समेत गर्न थालेको बताइएको छ ।


प्रतिक्रिया