इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता



काठमाडाैं । इरानको जेलमा रहेका पाँच जना नेपाली गएराति काठमाडौं फर्किएका छन् । उनीहरु इरानबाट गएराति काठमाडौं आइपुगेका हुन् ।

हालैको इजरायल इरान युद्धका कारण नेपाली नागरिकको सुरक्षा एवं उद्धारका क्रममा इरानको जेलमा पाँच जना नेपाली रहेको पत्ता लागेको थियो ।

त्यसपछि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको निर्देशनमा मन्त्रालयले उनीहरुलाई जेलमुक्त गरी स्वदेश फर्काउनका लागि कूटनीतिक पहल सुरु गरेका हुन् । सो पहलस्वरुप उनीहरु जेलमुक्त भई गएराति स्वदेश फर्किएका हुन् । उनीहरु स्वदेश फर्किएको जानकारी आज परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत गराएको छ । साथै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उनीहरु नेपाल फर्किएपछि सो कामका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा भनेकी छन्, “हालैको इजरायल-‘इरान युद्धमा नेपाली नागरिकको सुरक्षा र उद्धारका क्रममा इरानको जेलमा ५ नेपाली रहेका थाहा भएपछि परराष्ट्र मन्त्रालयले आवश्यक कूटनीतिक पहल सुरू गर्यो । सो पहलका कारण उहाँहरू जेलमुक्त भइ गएराति सकुशल नेपाल फर्किनुभएको छ । यस कार्यमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद छ ।”