काठमाडौं । शुभश्री महिला समूहले शनिबार परिचयात्मक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्यो। अनामनगरस्थित सामुदायिक विकास भवनमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष शशी शर्मा भट्टराईले गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि इन्दिरा सापकोटाले संस्थाले जेष्ठ नागरिकका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिदै अनुशासन र पारदर्शितालाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् । कामनपा वडा नं-२९ का अध्यक्ष कुश ढकालले संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

वरिष्ठ मृगौला प्रत्यारोपण विशेषज्ञ डा. विजयमान सिंह कटुवालले स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने कार्यमा समूहलाई आवश्यक सहयोग गर्ने आश्वासन दिए । नेपाल रेडक्रस सोसाइटीकी निर्देशक मोना अर्यालले संस्थालाई प्रविधिक र वित्तीय सहयोग गर्न सकिने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा युवा गायक जे.पी. पापीले सांगीतिक प्रस्तुति दिई मनोरञ्जनात्मक वातावरण सृजना गरेका थिए । कार्यक्रमको प्रारम्भ राष्ट्रगानबाट गरिएको थियो भने समूहकी सचिव प्रभा न्यौपानेले संस्थाको परिचय र उद्देश्य प्रस्तुत गरेकी थिइन् । उनले महिलाको सशक्तिकरण, शिक्षा, स्वास्थ्य, वातावरण तथा लैंगिक समानतामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिइन् ।
कार्यक्रमको समापन अध्यक्ष शशी शर्माले गरेकी थिइन्। उनले संस्था गठनका लागि महिलाहरूको लगनशीलता र संकल्पलाई श्रेय दिँदै आगामी दिनमा समाजसेवामार्फत थप योगदान पुर्याउने दृढता व्यक्त गरिन् । उनले महिला सशक्तिकरण गर्ने, जेष्ठ नागरिकको हकहित संरक्षण गर्ने, स्वास्थ्यसम्बन्धी योग, ध्यान जस्ता कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रम सञ्चालन गर्दा समावेशितालाई केन्द्रविन्दूमा राखेर सदैव अघि बढ्ने लक्ष्य संस्थाले लिएको जानकारी गराइन् ।
कार्यक्रममा पूर्वराजदूत मदनकुमार भट्टराई, वडा सदस्य सन्तोष ढुंगेल, पूर्ववडा सदस्य राजु अर्याल, कामनपा वडा नं २९ का वडा सचिव शम्भु बराल, त्रिवेणी युवा क्लब अध्यक्ष विन्देश खनाल, घट्टेकुलो गणेश मन्दिर पूजा सभाका अध्यक्ष पुरुषोत्तम भट्टराई र शान्ता दवाडी, संरक्षक घट्टेकुलो महिला समूहलगायतका पदाधिकारीहरूको सहभागिता थियो ।



प्रतिक्रिया