वर्षाको कामना गर्दै धनुष मन्दिरमा चढाइयो दुध

वर्षाको कामना गर्दै धनुष मन्दिरमा चढाइयो दुध



ढल्केबर । वर्षाको कामना गर्दै धनुषाको धनुषाधामस्थित धनुष मन्दिरमा दुध चढाइएको छ । लामो समयदेखि वर्षा नभएपछि स्थानीय किसानले वर्षाको कामना गर्दै मन्दिरमा दुध चढाएका हुन् ।

धनुष मन्दिरमा दुध चढाएमा वर्षा हुने जनविश्वास छ । तीन वर्ष पहिला पनि यस्तै खडेरी लाग्दा दुध चढाएपछि वर्षा भएको स्थानीयको भनाइ छ । त्यही विश्वासले आइतबार बिहान विशेष पूजाको आयोजना गरी मन्दिरभित्र रहेको धनुषको टुक्रामा स्थानीय किसानले दुध अर्पण गरेको मन्दिरका पुजारी भरतदास वैष्णवले बताए ।

वर्षाको पुकार गर्दै धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डललगायत चार सयभन्दा बढी किसानले दुध चढाएका छन् । पानी नपर्दा यसरी नै पुस्तौँदेखि यहाँ दुध चढाउने परम्परा रहेको उनले जानकारी दिए ।