ट्रम्पको आह्वानले थाइल्यान्ड र कम्बोडियाबीचकाे गोलाबारी रोकिएन

ट्रम्पको आह्वानले थाइल्यान्ड र कम्बोडियाबीचकाे गोलाबारी रोकिएन



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानका बाबजुद थाइल्यान्ड र कम्बोडियाको सीमामा गोलाबारी चलिरहेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै देशका नेताहरू युद्धविराममा काम गर्न सहमत भएको बताएको केही घण्टापछि कम्बोडिया र थाइल्यान्डले आज बिहानै विवादित सीमावर्ती क्षेत्रहरूमा एकअर्काका विरुद्ध आक्रमण गरेका समाचार एजेन्सी रोयटर्सले बताएको छ ।

कम्बोडियाले ट्रम्पको आह्वानलाई पूर्णरूपमा समर्थन गरेको बताएको छ । थाइल्यान्डले अमेरिकी राष्ट्रपतिप्रति आभारी भए पनि कम्बोडियाले आफ्ना नागरिकहरूलाई लक्षित गरिरहेको बेला वार्ता शुरू गर्न नसक्ने बताएको छ । यद्दपि यो दाबीलाई कम्बोडियाले अस्वीकार गरेको खबरमा उल्लेख छ ।

आफूहरूले मध्यस्थताका लागि तेस्रो देश नचाहेको तर ट्रम्पको चासोका लागि आभारी रहेको थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाईले बताउनुभयो । कम्बोडियाले थाइल्यान्डले शत्रुता शुरू गरेको र थाई सेना सीमामा परिचालन भइरहेको बताएको छ । थाइल्यान्डले भने कम्बोडियाबाट भएको आक्रमणको जवाफ दिएको बताएको छ ।

दक्षिणपूर्वी एशियाली छिमेकीहरूबीच एक दशकभन्दा धेरै समयको सबैभन्दा खराब लडाइँ शुरू भएको चार दिनपछि ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३३ जना पुगेको छ । दुई देशका सीमावर्ती क्षेत्रहरूबाट दुई लाख जनाभन्दा धेरै मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको खबरमा उल्लेख छ ।