जोर्डन र यूएईले गाजामा विमानबाट २५ टन खाद्य सामग्री ‘एयर ड्रप’ गरे

जोर्डन र यूएईले गाजामा विमानबाट २५ टन खाद्य सामग्री ‘एयर ड्रप’ गरे



काठमाडौं । इजरायलले नयाँ मानवीय सहायता वितरणका उपायहरूको घोषणा गरेपछि जोर्डन र यूएईले गाजामा विमानहरूबाट खाद्य सामग्रीहरू खसाल्ने काम (एयर ड्रप) सञ्चालन गरेका छन् ।

जोर्डनको सरकारी टेलिभिजनले जनाएअनुसार, रोयल जोर्डनियन वायुसेनाले संयुक्त अरब इमिरेट्ससँग मिलेर गाजामा २५ टन खाद्य पदार्थ र आवश्यक मानवीय सहायता सामग्री ड्रप गर्ने कार्यमा संलग्न भएको बताएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले सहायता एजेन्सीहरूले गाजापट्टीमा कुपोषण फैलिरहेको चेतावनी दिएपछि जानाजानी भोकमरीको झुटो दाबीलाई खण्डन गर्न भन्दै सहायता मार्गहरू स्थापना भइरहेको बताएको छ ।

जोर्डनले ६० ट्रक आवश्यक खाद्य सामग्री पनि पठाइरहेको देशको सरकारी समाचार एजेन्सीले जनाएको छ । इजिप्टले पनि स्थलमार्गबाट थप सहायता पुर्‍याइरहेको बताएको छ ।

सहायता संस्थाहरूले बारम्बार एयर ड्रपहरू गाजाको संकट समाधान गर्न पर्याप्त नभएको चेतावनी दिएका छन् ।

गाजाका करिब २० लाख जनसंख्यालाई एक छाक खाना प्रदान गर्न मात्रै दिनमा करिब १६० हवाई ड्रप उडानहरू आवश्यक पर्ने बीबीसीले जनाएको छ ।

युनिसेफले इजरायलले गाजामा सहायता वितरण वृद्धि गर्न सैन्य कारबाहीहरूलाई रोक लागाउने घोषणाको स्वागत गरेको छ । “यो संकटलाई उल्टाउने र जीवन जोगाउने अवसर हो,” संयुक्त राष्ट्रसंघको निकायले भनेको छ ।