चीन । चीनको राजधानी बेइजिङमा आएको भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सबैभन्दा बढी मृत्यु बेइजिङको उत्तरी पहाडी जिल्लामा भएको हो, जसमा मियुन जिल्लामा २८ र यानछिङ जिल्लामा २ जनाको ज्यान गएको हो ।
सप्ताहन्तदेखि शुरु भएको अविरल वर्षा सोमबार आसपासका प्रान्तहरूमा समेत फैलिएको छ । बेइजिङका उत्तरी क्षेत्रमा ५४३ मिमी (२१.३ इन्च) वर्षा मापन गरिएको छ। यो वर्षा मापन हालसम्मकै एक उच्च स्तरको हो ।
राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार, सबैभन्दा प्रभावित क्षेत्रहरूबाट ८० हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण दर्जनौं सडकहरू भत्किएका छन् र कम्तीमा १३६ गाउँहरूमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको छ ।
बेइजिङको ग्रामीण मियुन जिल्लामा सन् १९५९ मा निर्माण भएको जलाशय अहिलेसम्मकै उच्च स्तरमा पुगेपछि त्यसबाट पानी निकास गरिएको छ । यससँगै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र नदी किनारबाट टाढा रहन आग्रह गरिएको छ ।
मंगलबार बिहानसम्म अझै ३०० मिमी (११.८ इन्च) सम्मको भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार राति सबै सरोकारवाला निकायलाई ‘सम्पूर्ण शक्ति लगाएर’ उद्धार र खोजी कार्य गर्न निर्देशन दिएका छन् । सरकारले आपत्कालीन चेतावनी हटाइएनसम्म विद्यालय, निर्माण कार्य, बाहिरी पर्यटन र अन्य सबै सार्वजनिक गतिविधिहरू रोक्न आदेश दिएको छ ।


प्रतिक्रिया