काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
ट्रुथ सोसलमा पोस्ट गरिएको एक विज्ञप्तिमा ट्रम्पले अगस्ट १ देखि अमेरिकाले भारतबाट आउने सामानहरूमा २५ प्रतिशत कर लगाउने बताएका हुन् ।
ट्रम्पले यसअघि धेरै देशहरूमा कर लगाउने घोषणा गरेका थिए तर वार्ताको लागि अनुमति दिन त्यसलाई स्थगित गरेका थिए । साथै, व्यापार सम्झौतामा वार्ताको लागि अन्तिम मिति अगस्ट १ तारिख तय गरिएको थियो ।
भारत र अमेरिकाबिच व्यापार सम्झौताको बारेमा वार्ता भइरहेको थियो तर यसको घोषणा अहिलेसम्म भएको थिएन। यसैबिच, समयसीमाभन्दा दुई दिन अगाडि, अमेरिकी राष्ट्रपतिले भारतमाथि कर लगाउने घोषणा गरेका हुन् ।
ट्रम्पले भारत र अमेरिका मित्र भएको बताएका छन् तर पछिल्ला केही वर्षदेखि दुई देशबिच धेरै कम व्यापार भइरहेको जिकिर गरे । भारतले धेरै उच्च शुल्क लगाएको र यो विश्वमै सबैभन्दा उच्च भएको उनको भनाई छ ।
ट्रुथ सोसलमा ट्रम्पले लेखे, ‘भारतमा कुनै पनि देशको तुलनामा सबैभन्दा कडा र अन्यायपूर्ण व्यापार प्रतिबन्धहरू छन् । साथै, यसले आफ्नो धेरै सैन्य उपकरणहरू रुसबाट किन्छ। सबै जना रूसले युक्रेनमा हत्या रोकोस् भन्ने चाहन्छन्, तर भारत चीनसँगै रुसबाट ऊर्जाको सबैभन्दा ठुलो खरिदकर्ता हो ।’
ट्रम्पले थप लेखे, ‘यी सबै कुराहरू राम्रो छैनन्। भारतले यी सबैको लागि जरिवाना सहित २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ जुन अगस्ट १ देखि सुरु हुनेछ ।’


प्रतिक्रिया