टोरन्टी । प्रधानमन्त्री मार्क कार्नीले क्यानडाले सेप्टेम्बरमा प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने योजना बनाएको जानकारी दिएका छन् । यससँगै क्यानडा हालैका दिनहरूमा यस्तो घोषणा गर्ने तेस्रो जी सेभेन राष्ट्र बनेको छ ।
कार्नीले यो कदम प्यालेस्टिनी प्राधिकरणले अर्को वर्ष हमासको सहभागिता बिना चुनाव गराउने लगायतका लोकतान्त्रिक सुधारहरूमा निर्भर रहने बताएका छन् ।
उनको यो भनाइ बेलायतले इजरायलले युद्धविराम र अन्य सर्तहरूमा सहमति नजनाए सेप्टेम्बरमा प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरेको एक दिनपछि र फ्रान्सले यस्तै योजना सार्वजनिक गरेको एक हप्तापछि आएको हो ।
इजरायलको विदेश मन्त्रालयले क्यानडाको घोषणालाई ‘हमासका लागि पुरस्कार’ भन्दै अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये १४७ भन्दा बढी देशहरूले औपचारिक रूपमा प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् ।
कार्नीले क्यानडाले आगामी संयुक्त राष्ट्रसङ्घको महासभामा प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिने बताए । उनले कब्जा गरिएको वेस्ट बैंकमा इजरायली बस्तीहरूको विस्तार, गाजामा बिग्रँदै गएको मानवीय अवस्था, र ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणलाई क्यानडाको विदेश नीतिमा आएको यो नाटकीय परिवर्तनको कारण बताए ।
बुधबार पत्रकारहरूसँग कुरा गर्दै कार्नीले भने, ‘गाजामा मानवीय पीडाको स्तर असहनीय छ र यो तीव्र रूपमा बिग्रँदैछ ।’


प्रतिक्रिया