डिंगरनगर सहकारीले १२ करोड रुपैयाँ हिनामिना गरेको निष्कर्ष

डिंगरनगर सहकारीले १२ करोड रुपैयाँ हिनामिना गरेको निष्कर्ष



रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा १२ करोड रुपैयाँ हिनामिना र २५ करोड अपचलन भएको खुलेको छ ।

सहकारीमा अनियमितता भएको आशङ्कापछि छानबिनका लागि एक महिनाअघि खटिएका सात जना स्वतन्त्र लेखापरीक्षकहरूले १२ करोड रुपैयाँ हिनामिना र २५ करोड अपचलन भएको निष्कर्ष निकालेका हुन् ।

लेखापरीक्षकहरूको प्रतिवेदन अनुसार झन्डै ८० करोड रुपैयाँ अध्यक्ष र सचिवले आफूखुशी चलाएर नीतिगत अपचलन भएको समेत देखिएको छ । उनीहरूले अन्तिम प्रतिवेदन तयार गरी हिजो कार्यसमितिमा बुझाएका छन् । कार्यसमितिले प्रतिवेदन लुम्बिनी प्रदेश सहकारी रजिस्टार कार्यालयमा पठाएको छ ।

सहकारीमा समस्या आएपछि सहकारी अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा असार १७ गतेदेखि फरार भएका छन् । बचतकर्ताहरूले दैनिकजसो सहकारीको कार्यालय अगाडि प्रदर्शन गर्दै आफ्नाे रकम फिर्ता गर्न माग गरिरहेका छन् ।