काठमाडौं । गएरातिदेखि परेको पानीले उदयपुरमा चार वटा घर डुबानमा परेका छन् । त्रियुगा नगरपालिका वडा नबर १३ पोर्ताहामा रहेको सदा बस्तीका चार वटा घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
डुबानमा परेका चारै घरका परिवारलाई सुरक्षित ठाउँमा सारेको त्रियुगा नगरपालिका–१३ का वडाध्यक्ष नवीनकुमार चौधरीले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागका अनुसार त्रियुगा गाईघाट जल मापन केन्द्रमा नदीको जल सतह सतर्कता तह पार गरेको छ ।
हिजो बेलुकापछि उदयपुरसहित देशका सबैजसो ठाउँमा पानी परेको छ । २४ घण्टामा सबैभन्दा धेरै झापाको अनारमणीमा १५१ मिलिमिटरभन्दा धेरै पानी परेको छ । आज तराई मधेशका जिल्लाहरूमा पनि पानी परेको छ ।
यस्तै पछिल्लो १ घण्टामा काठमाडौं उपत्यका आसपाससहित गण्डकी र लुम्बिनी प्रदेशमा पानी पार्ने प्रणाली सक्रिय देखिएको छ । धादिङको गजुरी, लमजुङको खुदी बजार, बाँकेको सिक्टा, बर्दियाको स्यानो श्री चेपाङ लगायतका ठाउँमा दिउँसो १ घण्टामै २० मिलिमिटरभन्दा धेरै पानी परेको छ ।
मनसुन न्यून चापीय रेखा सरदर ठाउँभन्दा नेपालतर्फ रहेकोले केही दिन पानी पर्ने सम्भावना रहेको मौसमविद्काे अनुमान छ ।


प्रतिक्रिया