काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका–३ का वडा अध्यक्ष जनार्दन यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार उनले विकास योजनाहरूको निर्माण सम्पन्न भएपछि सेवाग्राहीसँग भुक्तानीका लागि ३ लाख रुपैयाँ घुस लिएको प्रमाण भेटिएको छ। केही समयअघि उनलाई उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो।
मामिलामा सिद्धार्थनगर नगरपालिका–९ स्थित गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन कुमार पाण्डे पनि संलग्न रहेको बताइएको छ। आयोगका अनुसार पाण्डेले वडा अध्यक्षसँग मिलेर सेवाग्राहीबाट रकम लिएका थिए।
अख्तियारले दुवै जनाविरुद्ध ३/३ लाख रुपैयाँ बिगो असुल गर्न माग गर्दै, भ्रष्टाचार निवारणसम्बन्धी कानुनअनुसार सजायको पनि माग गरेको छ।


प्रतिक्रिया