काठमाडौं । पाँच दिनदेखि बेपत्ता रहेका पाँचथरको याङवरक गाउँपालिका १ बिरूवाका नाबालक दाजुबहिनी मृत फेला परेका छन् ।
साउन १५ गते बिहानदेखि हराइरहेका बिरूवाका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्षीया छोरी नानुमा राईको शव मंगलबार बिहान बिरूवा खोलामा फेला परेको हो ।
उनीहरूको शव खोलाको किनारामा करिब २०० मिटरको अन्तरमा फेला परेको वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिए ।
बेपत्ता बालबालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली सोमबार च्याङथापू पुगेको थियो । मृतक दाजु शिशिर कक्षा ४ र बहिनी कक्षा १ मा स्थानीय पूर्ण आधारभूत विद्यालयमा अध्ययन गर्दथे ।
वडाध्यक्ष खालिङका अनुसार बिहान करिब ६ बजे बाबु बिर्खबहादुर छोराछोरीलाई हजुरआमा कहाँ गएर खाना खाई विद्यालय जानु भनेर पठाएका थिए ।
हजुरबुबा–हजुरआमा भने नातिनातिनी बाबुका साथ रहेको विश्वासमा दिनभरि आफ्नै काममा व्यस्त रहे । सधैं घर आउने नातिनातिनी नआएपछि साँझ करिब ७ बजे बाजे सूर्यबहादुरले बिर्खबहादुरलाई फोन गरेर सोधेका थिए ।
दुवै घरमा उनीहरू नभएपछि साउन १६ गते बिहानदेखि खोजी थालिएको वडाध्यक्ष खालिङको भनाइ छ। मृतक बालबालिकाकी आमा वैदेशिक रोजगारीमा रहेकी छन् ।
जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक कौशलकुमार बुढाथोकीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए। उनका अनुसार ती बालबालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।


प्रतिक्रिया