भारतको उत्तरकाशीमा बाढीको वितण्डाले बस्ती नै बगिसक्यो : प्रत्यक्षदर्शी

भारतको उत्तरकाशीमा बाढीको वितण्डाले बस्ती नै बगिसक्यो : प्रत्यक्षदर्शी



काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा लेदोसहितको भीषण बाढीले बस्ती नै सखाप पारेको छ । अहिलेसम्म चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यद्यपि त्यहाँ जनधनको ठूलो क्षति भएको अनुमान गरिएको छ ।

हर्षिल क्षेत्रको खीरगंगा गदेरेमा एक्कासि लेदोसहितको बाढी आएको हो । धराली निवासी आस्था पवारले बीबीसीसँगको कुराकानीमा घटनाबारे भनिन्, ‘मेरो घरबाट तलको दृश्य प्रस्ट देखिन्छ । मैले आँखैअगाडि धेरै होटलहरू बग्दै गएको देखेँ । पहिलो लहर धेरै डरलाग्दो थियो, त्यसपछि पनि हरेक १०–१५ मिनेटमा थप ठूला लहरहरू आउँदै थिए । घर तथा होटेलहरू बाढीले बगाउँदै लगेको छ ।’

उनी भन्छिन्, ‘कुनै पूर्वसूचना थिएन, स्कुलहरू पनि खुलेका थिए । छतबाट हेर्दा यस्तो लाग्थ्यो, मानौँ केही बाँकी छैन ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गरेका छन् । गृहमन्त्री अमित शाहले उद्धार टोली प्रभावित क्षेत्रमा खटाइएको जानकारी दिएका छन् । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्याले अहिलेसम्म ४ जनाको मृत्युको खबर आएको र ५० भन्दा बढी हराइरहेको दैनिक भाष्करलाई बताएका छन् । धेरै मानिसहरू बगेको आशंका गरिएको छ ।