उत्तराखण्डको बाढी : ८० जनाको उद्धार, १० सैनिकसहित सय जना अझै बेपत्ता

उत्तराखण्डको बाढी : ८० जनाको उद्धार, १० सैनिकसहित सय जना अझै बेपत्ता



काठमाडौं । भारतको उत्तराखण्डमा मंगलबार दिउँसो आएको बाढीमा परेर चार जनाको मृत्यु हुनुका साथै सैनिक जवानसहित एक सय मानिस बेपत्ता भएको प्रारम्भिक रिपाेर्ट सार्वजनिक भएको छ ।

उत्तराखण्डको खीरगंगा नदीमा वर्षापछि अचानक बाढी आउँदा धराली बजारका घर, होटल तथा मन्दिरहरूसँगै त्यहाँ रहेका मानिसहरु बगेका थिए ।

दिउँसो करिब साढे एक बजेतिर आएको उक्त बाढीमा परेर चार जनाको तत्काल मृत्यु भएको थियो । बाँकी ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको अनुमान गरिएको थियो । हालसम्म अद्यावधिक भएको रिपोर्टअनुसार बेपत्ता हुनेको संख्या एक सय रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

बेपत्ता हुनेहरूमा १० जना सैनिक जवान पनि रहेका छन् । उनीहरू हर्सिलको तल्लो क्षेत्रमा रहेको सशस्त्र बलको क्याम्पमा बसेका बेला बाढी आएको थियो । त्यस्तै बेपत्ता हुनेमा स्थानीयहरूसँगै पर्यटक पनि हुन सक्ने अनुमान गरिएको छ ।

भारी वर्षाका कारण हेलिकोप्टर र सैनिक जान कठिन भएको थियो । साँझ उद्दारमा कठिन भएको उत्तराखण्डका मुख्यमन्त्री पुष्कारसिंह धामीले बताएका छन् ।

कठिनाइका बाबजुद ८० जनाको उद्धार गरिएको धामीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । बेपत्ताहरूको खोजी कार्य जारी छ ।