खाना बोकेको ट्रक भीडमाथि पल्टिँदा गाजामा २० जनाको ज्यान गयो

खाना बोकेको ट्रक भीडमाथि पल्टिँदा गाजामा २० जनाको ज्यान गयो



काठमाडौं । गाजामा खाना बोकेको ट्रक भीडमाथि पल्टिँदा २० जनाको ज्यान गएको छ । चार वटा ट्रक भीडमाथि पल्टिँदा अन्य ३० जनाभन्दा धेरै घाइते भएका गाजामा हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमूद बसललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मध्य गाजा पट्टीको शरणार्थी शिविर नजिकै मध्यरातमा यो घटना भएको हो । यो क्षेत्र इजरायली सैन्य नियन्त्रणमा रहेको छ । यहाँका सडकहरू उबडखाबड र खतरनाक रहेका छन् । भीड ट्रकहरूतिर बढेको र ट्रकमाथि चढेपछि चालकहरूले उबडखाबड सडकमा नियन्त्रण गुमाएका थिए ।

गाजामा रहेको निजी यातायात सङ्घका प्रवक्ता जेहाद इस्लेमले हिजो २६ वटा व्यावसायिक ट्रक गाजामा प्रवेश गरेको बताउनुभएको छ । उहाँका अनुसार २० वटा ट्रक सुरक्षित रूपमा पार गर्न सफल भएका छन् भने ६ वटा लुटिएका छन् । तीमध्ये ४ वटा ट्रक पल्टिँदा १० जना चालक घाइते भएका खबरमा उल्लेख छ ।

हिजो इजरायलले गाजा पट्टीमा प्रवेश गर्ने सहायताको मात्रा बढाउन तथा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सहायता सङ्कलनमा निर्भरता कम गर्न निजी क्षेत्रमार्फत खाद्यान्नलाई प्रवेशका लागि अनुमति दिन शुरू गर्ने घोषणा गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार मे महिनाको अन्त्यदेखि यता खानाको खोजीमा एक हजार तीन सय जनाभन्दा धेरै प्यालेस्टिनीहरूको ज्यान गइसकेको छ ।