सप्तरी । राजगढ घटना संघर्ष समितिका संयोजक दिपेन्द्र यादवले घटना संलग्नहरूलाइ तत्काल नियन्त्रण लिइ कारबाही गर्न स्थानीय प्रहरी प्रशासनसँग माग गरेका छन् ।
बुधबार राति नै सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा प्रहरीको गोली लागेर मृत्यु भएका लालु यादवको प्रकरणमा गठित संघर्ष समितिले २४ घण्टै अल्टिमेटमसहित चार बुँदै माग पूरा गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।
स्थानीय नेपाली कांग्रेसका नेता दिपेन्द्र यादवको संयोजकत्वमा गठन भएको २५ सदस्यीय राजगढ गाउँपालिकास्तरीय संघर्ष समितिले मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाउदै दोषिलाई कारबाहीको माग राखेको हो ।
कमलपुरमा यादवलाई गोली प्रहार गर्ने प्रहरी निरीक्षकलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्नुपर्ने, प्रहरी उपरीक्षक गौतम केसीलाई अबिलम्ब विभागीय कार्वाही गर्नुपर्ने मागसहित यादव हत्याको गम्भीर उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको छ ।
यसैगरी मृतक यादवलाई शहीद घोषणा गर्दै परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन र सीमा क्षेत्रमा प्रहरी आतंक बन्द गरी शान्ति सुरक्षाका लागि प्रशासनद्वारा नियमित निगरानी गर्न मागसमेत प्रजिअलाई बुझाएको ज्ञापन पत्रमा गरिएको छ ।
आफुहरुले सप्तरी प्रशासनसमक्ष राखेको माग २४ घण्टाभित्र पूरा नभए थप आन्दोलन घोषणा गर्न बाध्य हुने संघर्ष समितिको चेतावनी छ । सप्तरी उद्योग बाणिज्य संघ सप्तरीले राजगढ घटनालाई लिएर आज सदरमुकाम राजबिराज लगायत जिल्ला भरका उद्योग धन्दा , पसल , बजार यातायात बन्दको आह्वान गरेका छन् ।
बन्द आब्हानले राजविराजको जनजीवन प्रभावित भएको छ ।


प्रतिक्रिया