काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको सम्पूर्ण नियन्त्रण लिने सरकारको योजना रहेको बताएका छन् ।
फक्स न्युजसँगको अन्तर्वार्तामा नेतन्याहूले यस कदमलाई सुरक्षा सुनिश्चित गर्न, हमासलाई हटाउन र हमास विरोधी नागरिक प्रशासनलाई सत्तामा ल्याउन आवश्यक रहेको बताए । तर हमासले यसलाई बन्धकको जीवनलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि जोखिममा पार्ने कदम भन्दै आरोप लगाएको छ ।
संयुक्त राष्ट्रसङ्घले यस्तो सैन्य अधिग्रहणले गाजाका सर्वसाधारण र इजरायली बन्धकका लागि ‘विनाशकारी परिणाम’ ल्याउने चेतावनी दिएको छ ।
इजरायली सञ्चारमाध्यमका अनुसार नेतन्याहूले गाजा सिटी र शरणार्थी शिविरहरू नियन्त्रणमा लिन, करिब १० लाख बासिन्दालाई दक्षिणतर्फ सार्ने र पछि दोस्रो चरणको आक्रमणसहित मानवीय सहयोग विस्तार गर्ने योजना बनाएका छन् ।
अहिले इजरायली सेनाले गाजाको करिब तीन–चौथाई भाग नियन्त्रणमा राखेको छ । गाजा ह्युम्यानिटेरियन फाउन्डेसनमार्फत सहायता वितरणमा अव्यवस्था, जोखिम र सयौंको ज्यान गएको छ ।
गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी करिब १२ सय जनाको हत्या र २५१ जनालाई बन्धक बनाएपछि शुरू भएको युद्धमा गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कम्तीमा ६१ हजार १ सय ५८ जनाको ज्यान गइसकेको छ ।
यसैबीच इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री नेतन्याहूको गाजालाई नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ । शुक्रबार बिहानको बैठकमा मन्त्रिपरिषद्ले यो मन्जुरी दिएको हो ।


प्रतिक्रिया