काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले युक्रेन–रुस युद्धबारे छलफल गर्न सुरक्षा अधिकारीहरूसँग बैठक गरेका छन् ।
बैठक शनिबार लन्डननजिकैको केन्टमा ल्यामीको आधिकारिक निवासमा भएको बीबीसीले जनाएकाे छ । बैठकमा युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषद्का सचिव रुस्तम उमेरोभ, राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री यरमाकका साथै बेलायत, अमेरिका, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटली, फिनल्यान्ड र नेटोका अधिकारीहरू सहभागी थिए । यो बैठक अमेरिकाको पहलमा बोलाइएको बताइएको छ ।
बैठकअघि बेलायतका प्रधानमन्त्री केएर स्टार्मरले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका थिए । उनीहरूले यो बैठक शान्तितर्फको प्रगतिका लागि छलफल गर्ने महत्वपूर्ण मञ्च हुने सहमति जनाएका थिए ।
सो अवसरमा युक्रेनी अधिकारीहरू र युरोपका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको पनि उपस्थिति थियो । बैठकमा बोल्दै ल्यामीले भने, “युक्रेनलाई बेलायतको पूर्ण समर्थन छ । हामी न्यायपूर्ण र दिगो शान्तिका लागि काम गरिरहनेछौँ ।”
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसलाई कुनै पनि भूभाग नदिने स्पष्ट पारेको समयमा यो भनाइ आएको छ । जेलेन्स्कीले यो विषय आगामी हप्ता अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने शिखर वार्ताअघि बताएका हुन् ।


प्रतिक्रिया