तीजको नाच हेर्न गएकी बालिकालाई ढुंगाले हानी घाइते बनाएर सामुहिक बलात्कार

तीजको नाच हेर्न गएकी बालिकालाई ढुंगाले हानी घाइते बनाएर सामुहिक बलात्कार



काठमाडौँ । दैलेखको बिन्द्रासैनी नगरपालिका-८ मा तीजको नाच हेर्न गएकी १२ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार भएकी छन्। साउन २२ गते साँझ घटनास्थलमा बालिकामाथि हमला गरी बलात्कार गरेको आरोपमा प्रहरीले २ युवालाई पक्राउ गरेको छ।

घटनामा साथीहरू भाग्न सफल भएपनि बालिकालाई ढुंगाले हानेर घाइते बनाई सामूहिक बलात्कार गरी बेहोस अवस्थामा छोडिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये सोही वडाका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी पर्छन्।

पीडितको दाहिने हात मर्किएको र गुप्ताङ्गमा चोट लागेको चिकित्सकले बताएका छन्। दैलेख अस्पतालमा उपचाररत बालिकाको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।

पीडित परिवारको शिकायतका आधारमा दुवै आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र जबरजस्ती करणी अभियोगमा अनुसन्धान चलिरहेको छ।