काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कको विद्युतीय कार तथा ऊर्जा कम्पनी टेस्लाले बेलायती घरहरूमा बिजुली आपूर्ति गर्ने लाइसेन्स अर्थात् अनुमतिपत्रका लागि आवेदन दिएको छ । टेस्लाले ऊर्जा निगरानी गर्ने संस्था अफजेममा आवेदन दिएको हो ।
यदि आवेदन अनुमोदन भएमा टेस्लालाई बेलायतको ऊर्जा बजारमा प्रभुत्व जमाउने ठूला फर्महरूलाई अर्को वर्षदेखि नै इङ्ग्ल्यान्ड, स्कटल्यान्ड र वेल्सका घर र व्यवसायहरूलाई बिजुली उपलब्ध गराउन अनुमति दिने बीबीसीले जनाएको छ ।
विश्वको सबैभन्दा ठूलो विद्युतीय गाडी निर्माता रहेको टेस्लाको सौर्य ऊर्जा र ब्याट्री भण्डारण व्यवसाय पनि छ । ऊर्जा आपूर्ति इजाजतपत्रका लागि आवेदनहरू प्रशोधन गर्न अफजेमलाई नौ महिनासम्म लाग्न सक्ने खबरमा उल्लेख छ ।
टेस्लाले बेलायतमा २ लाख वटाभन्दा धेरै विद्युतीय गाडी र १०औं हजार घर भण्डारण ब्याट्रीहरू बेचेको छ । यसले टेस्लालाई बिजुली आपूर्ति व्यवसायका लागि ठूलो ग्राहक आधारमा पहुँच प्राप्त गर्न मद्दत गर्न सक्छ ।
पछिल्ला महिनाहरूमा युरोपभरि टेस्लाको विद्युतीय गाडीको बिक्री घटेको छ । यही बेलामा टेस्लाले अनुमतिपत्रका लागि अफजेममा आवेदन दिएको हो ।
गएको जुलाईमा बेलायतमा टेस्लाको कार दर्ता झन्डै ६० प्रतिशत र जर्मनीमा ५५ प्रतिशतभन्दा धेरैले घटेको उद्योग तथ्याङ्कले देखाएको छ । टेस्लाले विद्युतीय कार निर्माता प्रतिद्वन्द्वीहरू विशेषगरी चीनको बीवाईडीसँग कडा प्रतिस्पर्धाको सामना गरेको छ ।


प्रतिक्रिया