अमेरिका र चीनबीच भन्सार शुल्क युद्धविराम ९० दिन थपियाे

अमेरिका र चीनबीच भन्सार शुल्क युद्धविराम ९० दिन थपियाे



काठमाडौं । अमेरिका र चीनबीच एकअर्कामाथि कर नलगाउने सम्झौताको म्याद ९० दिनका लागि लम्बिएको छ । अहिलेको सम्झौताको अवधि सकिन लागेको बेला दुई देश म्याद थप गर्न तयार भएका बीबीसीले जनाएको छ ।

हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै गएको मे अर्थात् ३ महिनाअघि भएको सम्झौता कायम भएको हो ।

त्यति बेला दुवै देशले एकअर्काको सामानमा लगाइएको कर अस्थायी रूपमा स्थगित गरेका थिए । यसअघि अमेरिकाले चीनलाई सम्झौताको म्याद नथपिए आजदेखि उच्च कर लागू गरिने चेतावनी दिएको थियो ।

गएको महिना भएको वार्तामा चीनले दुवै पक्षले सम्झौता कायम राख्न प्रयास गर्ने बताएको थियो । अमेरिकी अधिकारीहरूले त्यति बेला ट्रम्पको अन्तिम स्वीकृतिको पर्खाइमा रहेको बताएका थिए ।

अप्रिलमा व्यापारसम्बन्धी तनाव चरम सीमामा पुगेको थियो । ट्रम्पले विश्वका धेरै देशका सामानहरूमा कर लगाउने घोषणा गरेका थिए । चीनमा पनि उच्च कर लगाइएको थियो जसको प्रतिक्रियामा चीनले अमेरिकी सामानहरूमा कर बढाएको थियो ।

मे महिनामा भएको सम्झौताअनुसार अमेरिका प्रवेश गर्ने चिनियाँ सामानहरूमा थप ३० प्रतिशत भन्सार शुल्क लगाइएको थियो । साथै चीनमा अमेरिकी सामानहरूमा नयाँ १० प्रतिशत भन्सार शुल्क लगाइएको थियो ।