काठमाडौं । पाकिस्तानी सेना प्रमुखको ‘परमाणु’ धम्कीपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तानको एक थोपा पानी भारतले खोस्न नसक्ने बताएका छन् ।
मंगलबार इस्लामाबादमा आयोजित एक समारोहमा प्रधानमन्त्री शरीफले भने, “म सत्रुलाई के कुरा स्पष्ट गर्न चाहन्छु भने यदि तिमीले हाम्रो पानी बन्द गर्ने धम्की दियौ भने यो कुरा मनमा राख पाकिस्तानको ‘एक थोपा’ पानी पनि तिमीले खोस्न सक्दैनौ ।”
शरीफले अगाडि भने, “म कसम खान्छु, यदि तिमीले यस्तो हरकत गर्यौ भने हामी तिमीलाई फेरि यस्तो पाठ सिकाउनेछौँ कि तिमीले आफ्ना कानमा हात राख्नुपर्नेछ।”
भारतले गत अप्रिल २३ मा जम्मू–कश्मीरको पहलगाममा भएको आक्रमणपछि सिन्धु जल सम्झौता स्थगित गरेको थियो।
यस सम्झौताअन्तर्गत पाकिस्तानले पानी प्राप्त गर्दै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम आक्रमणपछि र त्यसअघि पनि ‘रगत र पानी सँगै बग्न नसक्ने’ बताएका थिए ।
शहबाज शरीफको धम्कीमा भारतबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।


प्रतिक्रिया