काठमाडौं । युरोपेली नेताहरूले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अलास्कामा रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको प्रत्यक्ष भेटमा युक्रेनको सहभागिताबिना एकतर्फी शान्ति सम्झौता नगर्न आग्रह गरेका छन् ।
जर्मन चान्सलर फ्रेडरिक मर्जले ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग भर्चुअल शिखर सम्मेलनको आयोजना गरेका थिए । यो बैठक पुटिनले ट्रम्पलाई युद्धलाई आफ्नो दृष्टिकोणबाट हेर्न मनाउने प्रयास गर्नेछन् भन्ने बढ्दो चिन्ताका बीच भएको हो ।
बैठकपछि, फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले ट्रम्प धेरै स्पष्ट भएको बताए । वाशिङ्टनले युद्धविराम चाहेको र जेलेन्स्कीको सहभागिताबिना युक्रेनको क्षेत्रीय मुद्दाहरूमा वार्ता गर्न नसकिने उल्लेख गरे ।
ट्रम्पले पत्रकारहरूलाई पुटिनसँगको उनको शिखर सम्मेलन राम्रोसँग सम्पन्न भए रुसी राष्ट्रपति र जेलेन्स्कीबीच तुरुन्तै अर्को बैठक हुनसक्ने बताए । उनले पहिलो बैठकमा हामी कहाँ छौँ र के गर्दैछौँ भन्ने पत्ता लगाउने र दोस्रो बैठक हुने सम्भावना धेरै भएको बताए ।
भर्चुअल बैठकबारे जानकार दुई युरोपेली कुटनीतिज्ञले कुराकानीका क्रममा ट्रम्पले पुटिनसँगको भेटमा बिनासर्त युद्धविरामको लागि जोड दिने बताएको सीएनएनलाई जनाएको छ ।
ट्रम्पले युद्धविराम रूसबाट सद्भावको प्रदर्शन हुने विश्वास व्यक्त गरे । साथै युक्रेनी भूमिको विषयमा उनले वार्ता गर्ने विषय नभएको पनि बताए ।
युक्रेन, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, फिनल्यान्ड, नेटो र युरोपेली संघका नेताहरूले ट्रम्पसँगको भर्चुअल बैठकमा भाग लिएका थिए ।
बैठकपछि जेलेन्स्कीले नेताहरूले अलास्कामा हुने वार्ताको ढाँचा निर्धारण गर्न पाँच साझा सिद्धान्तहरूमा सहमति जनाएको बताए । जसमा युद्धविराम र विश्वसनीय सुरक्षा ‘ग्यारेन्टी’मा ध्यान केन्द्रित गरिएको उनको भनाइ छ ।


प्रतिक्रिया