जम्मू-कश्मीरमा ‘क्लाउड ब्रस्ट’, १२ जनाको मृत्यु

जम्मू-कश्मीरमा ‘क्लाउड ब्रस्ट’, १२ जनाको मृत्यु



जम्मू-कश्मीर । भारतको जम्मू–कश्मीरमा किश्तवाडको चाशोटी क्षेत्रमा ‘क्लाउड बर्स्ट’ अर्थात् आरीघोप्टे वर्षापछि आएको बाढीमा परी कम्तीमा १२ जनाको ज्यान गएको छ ।

आज दिउँसो घटनामा झन्डै २ सय जना बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै अहिलेसम्म ६५ जनाको उद्धार भएको छ । गृहमन्त्री अमित शाहले राहत र उद्धार कार्यमा स्थानीय प्रशासनसँग समन्वय भइरहेको बताएका छन् ।

हजारौं भक्तजनहरू मचैल माता यात्राका लागि किश्तवाडको पद्दार सब–डिभिजनको चाशोटी गाउँमा पुगेको बेला आरीघोप्टे वर्षा भएको खबरमा उल्लेख छ । बाढीमा तीर्थयात्रीहरूका बस, पाल, सामुदायिक भोजनाल र धेरै पसलहरू बगेका छन् ।

मचैल माता तीर्थयात्रा हरेक वर्ष अगस्टमा हुन्छ र यसमा हजारौं श्रद्धालु सहभागी हुन्छन् । जुलाई २५ देखि शुरू भएकाे याे यात्रा सेप्टेम्बर ५ सम्म चल्नेछ ।

यसैबीच यो घटालाई लिएर भारतीय राष्ट्रपति द्रोपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गरेका छन् ।