बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो

बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो



बैतडी । हरेक वर्षातमा झैँ यहाँको दोगडाकेदार गाउँपालिका–६ डोलबासी यसपाली पनि पहिरोकै चिन्तामा छन् । २०१८ साल देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन ।

हरेक वर्ष वर्खामा खस्ने पहिरोले यो वर्ष पनि चिन्ता बढेको स्थानीय लोगसिंह भाटले बताए ।

‘वर्षात सुरु भएदेखि राति निदाउनसमेत डर लाग्ने गरेको छ,’ उनले भने, ‘पहिरोले चारैतिर जमिन बगाइसकेको छ । बस्ती जोखिममा छ । अन्त सरौं भने आर्थिक अवस्था पनि कमजोर छ । जोखिम मोलेर बसिरहेका छौं ।’

यहाँका धेरैले बसाइसराइ सरिसकेका छन् । पहिरोले घर तथा जमिन बगाएपछि अधिकांश बसाइ सरेका स्थानीय रामदत्त जोशीले बताए ।

आर्थिक अवस्था कमजोर भएका २० परिवार मात्रै अहिले यहाँ बसोबास गर्छन् ।

स्थानीय भोजराज जोशीले भने, ‘२०१८ साल कै पहिराले हाम्रो गाउँका हरेक घर बांगा छन्। भित्रभित्रै जमिन भासिएपछि घरहरू बांग भएका हुन्। पहिरोको जोखिममै बस्नु परिरहेको छ ।’

डोल पहिरोले हालसम्म नौ जनाको ज्यान लिइसकेको छभने दुई सय बढी रोपनी खेतीयोग्य जमिन बगाइसकेको छ ।

पञ्चायतकालमा डोलबस्तीलाई स्थानान्तरण गर्नुपर्ने भन्दै तत्कालीन राजा वीरेन्द्रले हुकुम प्रमांगी दिएका स्थानीय बुढापाका बताउँछन्। तर राजनीतिक खिचातानी भएपछि अन्यत्र बसाइ सर्ने सपना अधुरै रह्यो । आर्थिक अवस्था सबल भएका सबैले तराईतिर जमिन किनेर उतै गइसकेका छन् । तर गरिब र दलित समुदाय भने जोखिममै बस्न बाध्य छन् ।

पहिरोले प्रत्येक वर्ष खानेपानीको मुहान बगाउँदै आएको छ । त्यसपछि धमिलो पानी प्रयोग गर्न बाध्य हुने गरेको स्थानीय बहादुर भुलले बताए । डोलबस्ती स्थानान्तरणका लागि कुनै पहल हुन सकेको छैन । यहाँको बस्ती स्थानान्तरण नै उपयुक्त विकल्प हुने स्थानीयवासीको भनाइ छ ।