युक्रेनले सुरक्षा ‘ग्यारेन्टी’ पाउने जेलेन्स्कीकाे विश्वास

युक्रेनले सुरक्षा ‘ग्यारेन्टी’ पाउने जेलेन्स्कीकाे विश्वास



काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले सुरक्षा ‘ग्यारेन्टी’ पाउने विश्वास व्यक्त गरेका छन् । अमेरिकाको वाशिङ्गटन डीसी पुगेको केही घण्टापछि जेलेन्स्कीले युक्रेनको रक्षा गर्ने र सुरक्षा सुनिश्चित गर्ने कुरामा विश्वस्त रहेको सामाजिक सञ्जाल एक्समा बताएका हुन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकी नागरिक, प्रत्येक साझेदारको समर्थन र सहयोगका लागि आफूहरू सधैँ आभारी रहने पनि उल्लेख गरेका छन् । यस्तै उनले ह्वाइट हाउसमा आमन्त्रित गरेकोमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद पनि दिएका छन् ।

यसैबीच वाशिङ्गटन डीसीमा आज युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति ट्रम्प, युक्रेनी राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूबीच वार्ता हुँदैछ । आजको भेटघाटले युद्धविराम र सम्भावित शान्ति सम्झौताको दिशाबारे महत्त्वपूर्ण सङ्केत दिने अपेक्षा गरिएको छ ।

जेलेन्स्कीसँग भेट्नुअघि ट्रम्पले युक्रेनलाई नाटोमा प्रवेश दिने कुरा नभएको र सन् २०१४ मा रुसले कब्जा गरेको क्राइमिया फिर्ता नहुने बताएका छन् ।